~ three parts mad, and the fourth delirious, with perpetual rushing of hard times ~ Dickens

Wednesday, August 29, 2012

On 8/29/2012 01:08:00 AM by Unknown

आज बिहान बैनीले फोन गरेकी थिइ, हाम्रो स्कुलछेउमा बदाम बेच्ने कालीबुढी मरिन रे।
कालीबुढी, हामी सबले भन्ने गरेको नाम थियो, उनको खास नाम के थियो, यादनै छैन, वा भनौँ थाह नै छैन हामी कसैलाई। म स्कुल पढ्न सुरु गर्दैदेखी उनले बदाम अनी अरु फलफूल बेच्ने गर्थिन स्कुलको एक कुनामा। बाह्र वर्ष सधैँजस्तो देखेको अनुहार हो, कालीबुढीको। आज मरिन अरे भन्दा कता कता नरमाइलो लागिरको छ। अनी मलाइ पनि घसेरेर विगतमा पुर्याएको छ, ती स्कुलका दिनहरुमा!

सानो छँदा, बदाम, सुन्तला अनि नास्पाती खुब खाने गर्थे कालीबुढीको मा। कति चोटि त पैसा नहुँदा, टाढै बाट हेरि रहन्थे अनी कालीबुढीले देखेर बोलाउँथिन, अनि केही न केहि हातमा हालेर पठाउँथिन। पैसा जहिले दिएनि हुन्छ, तर खाएको पैसा तिर्न पर्छ, तिरेन भने ठुलो हुँदा नी त्यस्तै बानी लाग्छ, भन्ने गर्थिन। म पनि बच्चामा त असल नै थिएँ ;पी। घरमा जानेबित्तिकै आज कालीबुढीले यसो भनिन भन्थे, अनि भोलीपल्ट स्कुल जाँदा बाटैमा कालीबुढीलाई भेटेर पैसा तिरिहाल्थेँ।

म एलकेजीमा पढ्दा हो के रे, कालीबुढीले म खतिवडा हो भन्ने चालपाइछन। मलाई, दोकान गएपिच्छे म त तेरो फुपू पो हो त भन्ने गर्थिन कालीबुढी। म घरमा गएर सुनाउँथे, आज कालीबुढीले यस्तो भनिन, आज कालीबुढीले उसो भनिन भनेर। अनी प्राय जसो, अनामिका म संगनै हुन्थी, कालीबुढीको मा मैले भन्दा बढी त उसैले खाइ होला। बिस्तारै ठुलो हुँदै गएँ, बैनि पनि त्यहि स्कुलमा पढ्न थाली, उसले नी त्यहिँ कालीबुढीकोमा बदाम अनि अरू फलफूल किन्ने गर्थी। अब कालीबुढीले मलाइ भन्दा बढी मेरो बैनीलाई माया गर्न थालेकी थीइन।

ठुलो हुँदै गएसी कालीबुढीको मा जाने क्रम बिस्तारै कम हुँदै गयो। बेला बेला उनलेनै बोलाउँथिन, जान्थे, केहि किन्थे। आज अनामिका भा भए भन्थीहोलि, उनले गर्ने दुःख सुखका कुरा हामी सुन्थ्यौँ, अनी यस्तै हो फुपू भनेर भन्ने गर्थ्यौँ। जति ठुलो क्लासमा पुगे, कालीबुढीकोमा जाने क्रम पातलिँदै गयो, किन्न त छाडीसकेको थिए। भाइहरु, सानै भइपनि, हामी त त्यो कालीबुढीको मा नखाने भन्थे। तैपनि स्कुल छाड्ने बेला, आमै, मेरो त स्कुल सकियो आज, अब पढ्न बाहिर जान्छु होला भनेर निस्केको थिएँ स्कुलबाट।

स्कुल सकेपछी, मेरो जीवनले रोलरकोस्टर राइड गर्ने निर्णय गर्यो। स्कुल सकेको झन्डै ७ वर्ष भैसकेछ। आज कालीबुढी मरेको खबर सुन्दा याद गर्न खोजे, मैले कालीबुढीलाई फेरी कतिपटक भेटेँ होला भनेर। नराम्रो लागिरहेको छ, मैले त साँच्चै एकपटक नी भेटिन छु, तिनलाई फेरि। जीवनभर दुःखै गरेर भएपनि स्वाभीमानका साथ बाँचेकी कालीबुढीको आत्माले शान्ती पाओस।

कालीबुढी त यौटा उदाहरण मात्रै हुन, बाँच्ने क्रममा उनिजस्ता अरु कयौँ पात्रहरु, आए गए। कतिसंग जानेर टाढिएँ होला, कतिसँग थाहै नपाइ टाढिएँ होला। आज यो पोस्ट ती सबै पात्रहरूलाई सम्झँदै लेखेको छु मैले।

अस्तु.... ।