~ three parts mad, and the fourth delirious, with perpetual rushing of hard times ~ Dickens

Sunday, May 26, 2013

On 5/26/2013 02:18:00 PM by Unknown   No comments

कार्की दाई,
लठेप्री बुढीले बनाएर दिएको
एकमाना कालो चिया पिएर
कालो टोपी टल्काउँदै- निस्कीए काम खोज्न।
बाउको पछि-पछि सिँगान पुस्दै निस्कीयो
टालै-टालोले भरिएको झुत्रो लगाएर
सानो छोरो- भर्खर ४ पुगेको
बाउले काम गर्ने ठाउँमा केही देलान की भन्ने,
आशा छ- बिहानको भोक टर्छ की भन्ने- खाजा खाने।
सुनेथेँ- अर्को यौटा छोरो नी छ रे,
कुन महाजनकोमा बस्न पठाएको-
बेला-बेला कार्कीनी उपद्रो गर्ने गर्छे,
" मेरो छोरा भेटाइदेओ- छोरा भेटाइदेओ "
अहँ- आउन दिएका छैनन् रे दुई वर्षदेखि।

हिजो बिहानै,
टोपीले पसिना पुछ्दै,
आइपुगेछन कार्की दाई दलानमा।
भने: "आज रोजी थिएन, केहि भेटिन्छ कि भन्दै आएको।"
भन्यौँ: "आउ चिया-खाजा खाउ,
केहि बिरुवा लगाउनु छ- खालडो खनिदेउ"
७ बजेको समाचार बज्दै थियो रेडियोमा,
"थ्रेसहोल्ड मा सहमति नमिलेको कारण
संविधानसभा चुनावको मिति अझै घोषणा हुन सकेन।"

कार्की दाईलाई सोध्न मन लाग्यो,
सोधेँ: "दाई, यो पालीको चुनावमा भोट कसलाई हाल्ने?"
" जसलाई भोट दीए नी के भयो र,
संविधान की खै के जाती बनाउने भन्छन,
के गर्नु म जस्तो गरीबले त्यो बनाएर?
मिलने भए,
जसले सधैँ काम गर्न दिन्छ उसैलाई दिन्थैँ भोट।
यो फुच्चेलाई कसैले राम्रो लुगा- जुत्ता किनिदीए,
कसैले स्कुल पठाइदीए, उसैलाई दिन्थेँ भोट।
ठुलो छोरालाई कसैले घर ल्याइदीए, उसैलाई दिन्थेँ भोट।
संविधान बनेर के गर्नु,
काग्रेस-एमाले-माओवादी जसले जितेनी क्यार्नु? "

कार्की दाइको खोक्रो पेटले,
शान्तिको गित गाएन- विरोहको रोदन पोखेन,
बुद्ध र गोर्खालीको पौरख का गित पनि गाएन कहिले,
यो पार्टि र त्यो पर्टि भन्दै नारा पनि गाएन,
राजालाई ढोगेन, राष्ट्रपति बन्दा खुसीको नाच नाचेन,
हिजो-आज-भोली ध्याउन्न यौटै रहिरह्यो,
भरे बेलुका छाक कसरी टार्ने,
यो छोराको झुत्रे लुगा ले यसको लाज कसरी ढाक्ने।
कार्की दाईलाई,
शान्ति चाहिएन- क्रान्ति चाहिएन
राजा चाहिएन- गणतन्त्र चाहिएन
संक्रमण चाहिएन- संविधान चाहिएन।
दिन्छौ भने भरे बेलुकाको छाक टारिदेउ,
त्यो फुच्चेलाई एक जोर लुगा लगाइदेउ,
कार्कीनीको हत्ते, उसको छोरा फिर्ता ल्याइदेउ।

0 comments:

Post a Comment