फुलमायाँको दशैँ ।
परार साल मैले मुग्लानमा फुलमायालाई भेट्दा ‘‘यसपालिको दशैँ कस्तो भयो?’’ भनि सोधेँथे। उसले मलिन अनुहार लिएर भनि, “राम्रो लुगा लगाउने रहर त मेट्न सकिन, तर पनि पोख्रेली चामालको भात र स्वादीलो तरकारी मजासंग खाइयो।”
पोहोर साल, मैले फेरी उसलाई भेटेर,’’यसपालिको दशैँ कस्तो भयो?’’ भनि सोधेँथे। उसले मुस्कुराउँदै भनि, “यसपटकको दशैँमा त परदेशका दाइले मासुभात मजासंग खुवाए, राम्रो लुगा लगाउने रहर पनि पूरा गरिदिए, आंगमा केही गहना पनि हालिदिए…… बडो राम्रोसंग बित्यो यसपालिको दशैँ।”
यसपालि घुम्दै-फिर्दै बम्बई पुगेको थिएँ। बाटोमा रुमाल्लदै गर्दा, कसैले ईसारा गरेझैँ लाग्यो, नजिकदैँ गएँ, अनुहार परिचितझैँ लाग्दै गयो अझ बढी। मेरो मुखबाट अनायसै बोली फुस्कियो, “फुलमाया…?’” उसले रुँदै भनी, “दाइ यसपालीको दशैँ कस्तो भयो भनेर खै सोधेको त?”
मैले उसलाई त्यो प्रश्न राख्न जरुरि ठानिन, किनभन सबै उत्तर ती आँखाले दिइरहेक थिए।