अघि बढ्न छाडेको छ घडी,
दरवारमार्गमा ठडिएको जिर्ण घन्टाघर झैँ,
कालचक्रदेखि अत्यास लागेर होला,
धरहरा ढलेको छ- डङ्रँग।
बज्दैनन् समय सूचक
तोपहरु,
ल्याम्पोस्ट मुनि
छिचिमिरा सल्बलाउँछन- साँझ।
बिहानै, झरेका पँखेटाको मोलमलाई हुन्छ,
मरेका छिचिमिराका परिवारले पाउलान त-
५० लाख- कबुल गरेझैँ?
समय? अहँ, चलायमान छ,
घडिले रोक्ने हो र समय?
अज्ञात भविष्य कुरिरहेको छ, कतै।
अधिर छ वर्तमान,
धुमिल हुदै छ विगत, सम्झनाहरुमा,
चन्द्रागिरी मुन्तिर घामको चमक हराएझैँ,
कान खुलै छ, सँधैझैँ,
सँगित जरुर बन्द छ आजभोली,
भ्वाइलिन बज्दैनन् आजभोली,
जर्ज ह्यारिसनको गितारले विरहका गितहरु बजाउन थालेको छ,
सहरको ट्राफिकझैँ अस्तव्यस्त छ दैनिकि,
होइन, दिनहरु निरस छन,
मनका कुण्ठाहरू पेट्रोलको लाइनझैँ लामा छन,
मन आजीत हो बस,
ज्वालामुखी फुट्छ दिनौँ,
लाभाले मानसिक उथलपुथल को रूप धारण गर्छन,
ड्राफटमा आधी लेखेर छाडिएका कथा-कविता झै,
लाथालिङ छ दैनिकि,
बस, बुर्कुशी मार्दै छ मेरो वर्तमान,
अनिश्चित भविष्यको तिर।
